काठमाडौँ । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेशन अन्तर्गतको गोल्छा ग्रीन इनर्जी प्रालिले नेपालमा सौर्य ऊर्जा विकास तथा विस्तारलाई अघि बढाउने भएको छ । भारतमा ४०० भन्दा बढी सौर्य विद्युत् परियोजना विकासमा काम गरिसकेको भारतको केएसएल क्लिनटेक लिमिटेडसँगको सहकार्यमा कम्पनीले नेपालमा सौर्य ऊर्जा विस्तार गर्न लागेको हो ।
यसका लागि शुक्रबार एक समारोहका बीच गोल्छा ग्रीन इनर्जी प्रालि र केएसएल क्लिनटेकबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा दिवाकर गोल्छा अर्गनाइजेशनका निर्देशक हिमांशु गोल्छा र केएसएलका निर्देशक आदित्य भाग्चन्दकले हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल सौर्य ऊर्जा उत्पादक संघका अध्यक्ष सन्दीप शाहले नेपालमा हिउँदमा जलविद्युत् उत्पादन कम हुने र त्यसलाई पूर्ति गर्न हिउँदमा सौर्य ऊर्जा उत्पादनका लागि आवश्यक घाम लाग्ने भएकोले यसको सन्तुलन मिलाउने गरी सौर्य ऊर्जा उत्पादन गर्नुपर्ने धारणा राखे । हाल हिमालको हिउँ पग्लिँदै गएको तथा जलवायु परिवर्तनले जलविद्युत्को भविष्य नै सङ्कटमा पार्दै लगेको तर घामको भविष्य सुनिश्चित रहेकोले सौर्य ऊर्जालाई सरकारले दोस्रो दर्जाको व्यवहार गर्नु नहुने बताए । उनले हिउँमा अपुग हुने बिजुली पूर्ति गर्न भारतले प्रदूषित कोइलाबाट उत्पादन गर्ने बिजुली आयात गर्नुपर्ने बाध्यता हाउन पनि सौर्य ऊर्जाको विकासमा अघि बढ्नु आवश्यक रहेको बताए ।
वैकल्कि ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत सन्तोष राईले नेपालमा सौर्य विद्युत् उत्पादन र प्रसारण प्रणालीमा जडान गर्ने प्रशस्त सम्भावना हुँदा हुँदै पनि ग्रिड जडित रुफटप सोलारलाई ५०० किलोवाटको सीमा तोक्नु उचित नभएको बताए । उनले नेपालमा लाग्ने घामको गुणस्तर सौर्य विद्युत् उत्पादनका लागि उपयुक्त भएको र सरकारले पछिल्लो समय बजेटमार्फत सौर्य ऊर्जाका लागि आवश्यक उपकरण आयातका लागि भन्सार कर छुट दिने प्रावधानले यसमा उत्साहित बनाएको बताए ।
कार्यक्रममा निर्देशक गोल्छाले केएसएलसँगको सहकार्यबाट आफू उत्साहित भएको बताए । हुलास स्टिलमार्फत हालैका दिनमा पनि आफूहरूले विद्युत् पोललगायत सामग्री उत्पादन गर्दै आएकोमा अब सौर्य ऊर्जाको विकास र विस्तारलाई अघि बढाइने बताए ।
केएसएलका निर्देशक भाग्चन्दकले आफूहरूले भारतमा सानादेखि ठूलासम्म ४०० भन्दा बढी फोटोभोल्टिक सौर्य विद्युत् आयोजनाको डिजाइन, निर्माण तथा सञ्चालन गरेर विशेषज्ञता र अनुभव हासिल गरिसकेको भन्दै नेपालमा पनि अब सौर्य ऊर्जा विकासमा अघि बढ्ने बताए । उनले कम्पनीले दिने बिक्रीपछिको सेवा समेत सानासाना समस्या र चुनौतीलाई पनि मिहिन रूपमा समाधान गर्ने गरी दिइरहेको बताए ।
गोल्छा ग्रीन इनर्जीले अघि बढाउने सौर्य विद्युत् आयोजनाहरू विकासका लागि आवश्यक ऋणको व्यवस्थापन भने एभरेष्ट बैंक लिमिटेडबाट गरिने सहमति भएको जनाइएको छ ।
Press Release
गोल्छा ग्रीन इनर्जीले केएसएलसँगको सहकार्यमा सौर्य ऊर्जा आयोजना विस्तार गर्ने

June 24th, 2025